logo
  • २९ आश्विन २०८२, बुधबार | Wed, 15 Oct 2025
  • नौबहिनी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई नगद सहित सम्मान

    • bouddhatimes bouddhatimes
    • २ आश्विन २०८१ बुधबार
    नौबहिनी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई नगद सहित सम्मान

    रविन विश्वकर्मा,प्युठान
    नौबहिनी गाउँपलिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल गाउँपालिका अन्तर्गतका विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । विद्यार्थीतर्फ एसईईमा राम्रो जिपिए ल्याइ छात्र/ छात्रातर्फ पालिका उत्कृष्ट हुने गंगा मावि बहानेका दिपशिखा के. सी. र नवराज सुवेदीलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए । एसईईमा केसीले ३.२३ जिपिए र सुवेदीले ३.१३ जिपिए ल्याएका थिए ।

    यस्तै शिक्षकहरुमध्ये गणित विषयतर्फ लुप्लुङ्ग माविका पुरुषोत्तम पौडेल, विज्ञान विषयतर्फ गंगा माविका प्रकाश पोख्रेल, अङ्ग्रेजी विषयतर्फ गंगा माविका गंगा घिमिरे, नेपाली विषयतर्फ गावै माविका कल्पना पुन मगर र सामाजिक विषयतर्फ नेरा माविका माधव रिजाललाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक र बिद्यालयलाई नगद रु ७ हजार पाँच सय रुपैया सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

    त्यस्तै राम्रो नतिजा ल्याइ विद्यालयतर्फ प्रथम हुने गंगा माध्यमिक विद्यालय नौबहिनी–६, बहाने, द्वितीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौबहिनी–५, डाम्री र तृतीयअम्बिका माध्यमिक विद्यालय नौबहिनी–८,फोप्लीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरी सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत पोडेलले बताए । प्रथम,द्वितीय र तृतीय हुने बिद्यालयहरुलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार दिएको उनले बताए ।

    शैक्षिक क्षेत्रमा राम्रो उपलब्धी हासिल गर्ने उत्कृष्ट बिद्यालय,शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरी मनोबल उच्च बनाई बिद्यालयको शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्न उत्प्रेरणा प्रदान गर्ने उदेश्यका साथ सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको भनाइ छ ।

    सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बिद्यालयको शैक्षिक गुणस्तरमा गाउँपालिकाले बिशेष जोड दिएको बताए । २०८० सालको एसईईको नतिजा दशैभर कमजोर देखिएको र त्यसमा पनि नौबहिनी गाउँपालिका अन्तर्गतका बिद्यालयहरुको नतिजा झनै कमजोर आएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पालिका लागि परेको बताए । गाउँपालिकाको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा बिद्यालयका सबै प्रध्यानाध्यापक, राजनीति दल,जनप्रतिनिधि,अभिभावक सरोकारवाला निकायहरुबिच छलफल गरेर अगाडि बढेको बताए । अध्यक्ष थापाले केही बिद्यालयहरुको नतिजा शून्य आएको र अन्य बिद्यालयहरुको नतिजा पनि खासै राम्रो नआएकाले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, बिद्यार्थी, अभिभावक संगसंगै सबै सरोकारवाला निकायलाई शैक्षिक गुणस्तर वृद्धिमा जोड दिन आग्रह गरे ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता र उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यता रहेको थियो । सम्पुर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पुर्ण विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक समेतको उपस्तिथि रहेकोे थियो ।



    bouddhatimes bouddhatimes    
  • २ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP